कविता – भूजिखोला

केशवबिक्रम सिंह
न टेक्ने ठाउँ रह्यो, न रह्यो समाउने डाली।
न बग्न सकें सँगै, तिम्रो यो नासो फाली।।

न रातमा निन्द्रा, न छ दिनमा भोक।
एक मुठी सास बाहेक गुम्यो सबथोक।।
कर्मले ठग्यो, गर्यो दैबले मैमाथी जालझेल।
सबैले मारे आस, म कुर्छु तिम्लाई बाँचुन्जेल।।
भावी कै बसमा हुँदो रैछ यो पापी चोला।
मिलनको तगारो बन्यो, यो भुजिखोला।।
दुःखमा, सुखमा हुन्थ्यौ तिमी सँगै हरप्रहर।
हाम्रो रङ्गिन सपना सँगै बग्यो पुरै गाँउ घर।।
खनी खोस्री गरी चलेथ्यो गुजारा दुःखैले।
तिमी थियौ र पो बाँचेकी थिएँ म सुखैले।।
भरे राती सपनीमा आउनु है तिमी जसरी।
भन प्रिय, तिमीबिना बुझाउँ मन कसरी।।
(२०७७ साल भाद्र १७ गते ढोरपाटन नगरपालिका अन्तर्गत वार्ड नं ६,७,८ र ९ मा बुझिखोलामा आएको बाढीले ज्यान गुमाउनु हुने र अझै वेपत्ता रहनु भएका सम्पूर्णमा समर्पित।)

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →