त्रिलोचन ढकाल
मन बहादुर घर्तीले फर्सिको बिउ ल्याएर दिए ।”ठूलो भएर फल्छ हजुरबा” भनेका थिए ।
बिउ रोपेँ । आफ्नो समयमा उम्य्रो पनि । बढ्दै गयो । हुर्कँदै गयो । ठुलो फल प्राप्त गर्ने आशामा त्यसको स्याहार सम्भार गर्दै गएँ । केही समयमा फल्यो । मेरो खुसीको सीमा रहेन ।
एउटा बोटमा प्रशस्त मुन्टाहरू पलाए । प्रत्येकमा फल्न थाल्यो फर्सी । केहीलाई त हरियैमा खाइयो, तरकारी बनाएर । पाँचवटा पाकेर पँहेला-पँहेला भएका थिए । मनबहादुर ले भने जस्तै ठुला ठुला थिए ।
केही दिनमा एउटा बाहेक सबै कुहिएर गए । बाँकी एउटा पनि कुहिने हो कि भनेर म चिन्तित भएँ । यो फर्सी बाट बीउ निकालेर सारा किसान जनताका घर घरमा त्यस्तै फर्सी फलाउने चाहना गरेको थिएँ ।
चाहना पूरा गराउनका निम्ति फर्सी नकुहियोस् भनेर औषधि न गरेको होइन । वैद्य कहाँ गई हिमाल पारिको जडिबुटी ल्याएर घसेँ । निकै चम्किलो भयो पर्सि । भारतीय माछा ब्यापारीकोमा गएर माछा कुहुन नदिने रसायन ल्याएर पनि दलेँ । फर्सी न कुहुनेमा म ढुक्क भएँ । युरोपतिर घुम्न जाँदा पेरिसबाट अत्तर किनेर ल्याएको थिएँ । त्यो पनि छर्कि दिएँ । फर्सी मग मग बसाउन थाल्यो ।
सातदिने कृषि प्रदर्शनी भएको थियो । फर्सी त्यहाँ पनि राखि दिएँ । सबैको आकर्षणको केन्द्र बन्यो मेरो फर्सी । कति ठुलो ? कति सुन्दर ? कति बास्नादार ? प्रसम्सै प्रसम्सा पायो । प्रदर्शनीमा सबैलाई जित्यो पनि ।
मैले त्यसलाई घरको कौसी मा सिको बनाएर झुण्डाएर राखेँ । चारैतिरबाट हावा पाइरहेपछि फर्सी कुहुँदैन भन्नेमा म ढुक्क थिएँ । दिनको तीन पटक हेर्थेँ । उस्तै ठुलो, उस्तै चिल्लो, उस्तै बास्नादार । त्यसबाट पूरा गर्ने प्रशस्त थिए मेरा सपना ।
एकदिन हावाको गति केही बढेको थियो । मध्यान्हमा मैले हेरेँ । सिकोमा फर्सी देखिएन । आँगनमा हेरेँ । त्यसको बोक्रा मात्र देखियो । त्यो मानव खप्पर जस्तै ङिच्च हाँसे जस्तो देखियो ।
त्यसभित्र बीउ थिएन । तरकारी खाने गुदी पनि थिएन । चिल्लो सुन्दरता पनि देखिएन । अत्तरे बास्ना पनि थिएन । डुङ्डुङ्ती दुर्घन्ध मात्र ठोकियो घ्राणेन्द्रियमा । आँगनमा कालो लेदो बगिरहेको थियो ।
अब आँगन कसरी सफा गर्ने ? म चिन्तामा परेँ ।
आनन्दआश्रम, फापरथुम
स्याङ्जा