लघुकथा– हिस्स बुढी हरिया दाँत

लक्ष्मी रिजाल
‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’
भरखरै सपथ लिएका नवनियुक्त प्रधानमन्त्री गुट निकटस्थ नेताको मुखबाट बधाईका शब्द निस्कँदा पहिले त उनी उमङ्गले उम्लिइन् ।

कुरा हुँदै जाँदा राजनीतिमा बगाएको पसिनाको उच्च मूल्याङ्कन गर्दै महिला तथा बालबालिका मन्त्री बनाउन लागेको थाहा पाइन् । मोबाइलमा सुनेको त्यस ध्वनिलाई आकार दिएर शिरदेखि पाउसम्म चुम्बन गर्ने मन भयो उनलाई । कल्पनामा डुब्दाडुब्दै आफैँले बोलिरहेको मोबाइल पटकपटक चुम्न पुगेकी थिइन् ।
‘नामकुमारीजी ! बढता खुशी नहुनुस् । आधिकारिक पत्र हातमा नपरुन्जेल चुपचाप नै रहनुहोला नि ! मिडियाबाजी बन्दै नगर्नुहोला । प्रधानमन्त्रीको निजी सचिवालयबाट पत्र र फोनमार्फत् सूचना आएअनुसार सपथ समारोहमा पाल्नुहोला । मैले अन्त पनि कुरा गर्नुछ !’
प्रतिक्रिया नसुनी नेताले मोबाइल राखेपछि भने उनी झसङ्ग भएकी थिइन् । चार घण्टा वितेपछि मनको बेचैनी शान्त पार्न निजी सचिवालयमा फोन गरिन् । खुलस्त जवाफ आएन ।
प्रधानमन्त्रीलाई सोझै सोध्छु भनेर मन बलियो बनाएर फोन लाइन् ।
‘नामकुमारी ! तिमीलाई चाँडै खबर गर्छु । त्यो महिला मन्त्रालय महिलाले नै समाल्नुपर्छ भन्ने हाम्रो ठहर रही आएको छ ।’ अभिभावकीय भूमिका निर्वाह गर्दै प्रधानमन्त्रीले बोलेको प्रेमपूर्ण स्वरले आफू मन्त्री बन्ने निश्चिन्त भएको बुझिन् उनले ।
सपथ समारोहको मिति तय भएको खबर सञ्ंचार माध्यमबाट सुनिन् । घडीको सुई नै निदाउन लागेझैँ लागिरह्यो । घडीतिर समय हेर्दाहेर्र्दै दिन वित्यो । रात छर्लङ्गै भयो । उनी निकटका पत्रकारले स्थानीय अखबार र अनलाइनमा समाचार लेख्न समेत भ्याए । बधाईको ओइरो लाग्यो तर प्रधानमन्त्रीबाट खबर आएन ।
राष्ट्रिय अखबारमा छापिएको मन्त्रीको सपथ लिने सूची हात पर्यो । सिरानदेखि पुछारसम्म आफ्नो नाम कतै भेटिनन् । महिला मन्त्रीको ठाउँमा नाम थियो– हामकुमार !
२०७८–०३–३० रुपनगर, सप्तरी ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →