गिरिजा, ‘रअ’ तथा ‘ग्रान्ड डिजाइन’…..भाग ३

कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book :
भारतको केन्द्रीय गुप्तचर ‘रअ’को सहयोगमा हवाई अपहरण घटना घटेको पुष्टि गर्दै प्रजातन्त्र स्थापनाको लागि भनेर सन् १९७३मा शाही नेपाल वायु सेवा निगमको हवाईजहाज

अपहरण गर्ने योद्धाहरु मध्येका एक दुर्गा सुवेदीले पनि देशसंचारडट्कममा साउन २७, २०७५ मितिमा प्रकाशित आफ्नो लेख ‘गिरिजाबाट राष्ट्रघाती कार्य भएको रहेछ’ मार्फत निम्नानुसार खुलासा गर्नु भएको छ ;
“यो सम्पूर्ण काण्डका नेता गिरिजाप्रसाद कोइरालाले पछि आफू प्रधानमन्त्री भएका बेला कान्तिपुर टेलीभिजनसँगको अन्तरवार्तामा हवाई अपहरणको कुरा उठाउँदै भन्नुभएको थियो ‘भारतको गुप्तचर ‘रअ’को सहयोगमा अपहरण गर्ने गराउने काम सम्पन्न भएको थियो ।’ त्यो अन्तरवार्ता कान्तिपुर प्रकाशनको ‘साप्ताहिक नेपाल’मा पनि किस्ता किस्तामा प्रकाशित भएको छ । भारतको केन्द्रीय गुप्तचर ‘रअ’ को सहयोगमा हवाई अपहरण जस्तो अन्तर्राष्ट्रिय फौजदारी अपराध गराएको भनी गिरिजाप्रसाद कोइरालाको स्वीकारोक्तिले हामी जस्ता युवाहरुले प्रजातन्त्र स्थापनाको लागि देखाएको आत्मोत्सर्गको भावना र राष्ट्रप्रेममाथि खेलवाड मात्र गरेको देखिएन, उहाँबाट राष्ट्रघाती कार्य पनि भएकै रहेछ भन्नै पर्ने हुन्छ । “त्यसपछिका दिनहरुमा भारत सरकारद्वारा समर्थित माओवादी जनयुद्धको राजनीतिक अवतरण गराउने कुरामा पनि गिरिजाप्रसाद कोइरालाले भारतीय गुप्तचर प्रमुख हर्मिज, प्रचण्ड र बाबुरामबीच खेलेको भूमिकाले धेरै कुरा प्रष्ट पारिसकेको छ (सुवेदी, दुर्गा : वि.स. २०७५ : पृ. १) I”
‘रअ’ को निर्देशन र सहयोगमा तीस लाख भारु हवाईजहाजमा डकैती गरेर बिहार लगेको, युरेनियम ओसारपसार गरेको र नक्कली भारु छापेर पैसा कमाएको घटनाहरुको पुष्टि गर्दै चर्चित विद्धवान पत्रकार एवं लेखक युवराज गौतमले नागरिकन्युजडट्कममा २० मङि्सर २०७६को मितिमा प्रकाशित आफ्नो लेख “आतंकवादको अवतार”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“गिरिजाप्रसाद कोइरालाको आत्मकथामा लेखिएअनुसार अन्तरिम संविधानका मस्यौदाकार समेत रहेका शम्भु थापाले कोइरालालाई २०४७ सालकै संविधान संशोधन गर्न सुझाव दिएका रहेछन् । कतिपय कुरा लुकाए पनि पुस्तकमा गिरिजाप्रसादले धेरै कुरा प्रस्ट बोलेका छन् । नेपालको प्रधानमन्त्री भइसकेको ती नेताले आफू विगतमा भारतीय गुप्तचर संस्था रअबाट सञ्चालित भएको स्वीकारेका छन्। नेपालको तीस लाख भारु हवाईजहाजमा डकैती गरेर बिहार लगेको, युरेनियम ओसारपसार गरेको र नक्कली भारु छापेर पैसा कमाएका प्रसंगको सगर्व व्याख्या गरेका छन् कोइरालाले (गौतम, युवराज : वि.स. २०७६ : पृष्ठ १) I”
वास्तवमा गिरिजा विध्वंसकारी मन भएका नेता थिए भनेर उहाँ संगै लामो समयदेखि काम गरेका नेपाली कांग्रेस कै समर्थक विद्धवान लेखक गणेश शर्माले नेपालमेगडट्कममा सन् २१ जुलाई २०१६ को मितिमा प्रकाशित आफ्नो लेख “विश्वले मानेको नेता”मा निम्नानुसार स्पष्ट रुपले पुष्टि गर्नु भएको छ ;
“मैले ०११ सालदेखि गिरिजाबाबुसँग काम गरेँ । जहाज अपहरणमा मात्र होइन, नेपाली कांग्रेसले गरेका थुप्रै अपरेसनमा गिरिजाबाबुको गाडी नै हाँकेँ । बीपी र गिरिजाबाबुमा आकाश जमिनको फरक थियो । गिरिजाबाबु पूरै ‘डिस्ट्रक्टिभ माइन्ड’को मान्छे, उपयोग गरेर मान्छे छाडिदिने । तर, बीपी त्यसको ठ्याक्कै उल्टो । एकपल्ट भेटेको मान्छे, चाहे त्यो आन्दोलनमा कामै नलाग्ने किन नहोस्, बिर्संदै नबिर्सने (शर्मा, गणेश : वि.स. २०७३ : पृ १) I”
त्यस्तैकिसिमले विद्धवान लेखक एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले गिरिजा अनुमान गर्न न सकिने प्रवृतिका हुनुहुन्थ्यो भनेर हिमाल खबरपत्रिकाको १–१५ भदौ २०६३ अंकमा प्रकाशित “सेरेमोनियल : आग्रह र आशय” भन्ने लेखमा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“गिरिजाप्रसाद कोइराला अनुमान गर्न नसकिने (अन–प्रेडिक्टेवल) राजनीतिक चरित्र नायक हो । उहाँले कुन बेला के बोल्नुहुन्छ कसैलाई थाहा हुँदैन (दाहाल, पुरुषोत्तम : वि.स. २०६३ : पृ. १) ।”
सोहि प्रकार गिरिजा विवेकमा होइन, आवेगमा काम गर्ने मानिस थिए भनेर चर्चित विद्धवान पत्रकार एवं लेखक युवराज गौतमले अन्नपूर्ण पोस्टमा २०७३ बैशाख १३ को दिन प्रकाशित आफ्नो लेख “अकबरको घोडा” मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“इस्लामावादस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा (सन् २००५) पाकिस्तानी कूटनीतिज्ञ अक्रम जाकीसँग कुराकानी हुँदा उनले गिरिजाप्रसादका बारेमा रोचक प्रसंग सुनाएका थिए, ‘उनी (गिरिजा) पहिले एक्सन गर्छन् पछि मात्र त्यसको नाफाघाटा हेर्छन्।’ विजयालक्ष्मी (बीपी कोइरालाकी बहिनी) सँग लामो दाम्पत्य जीवन बिताएका जाकीले गिरिजाप्रसादलाई विवेकमा होइन, आवेगमा काम गर्ने मानिस भन्न खोजेका थिए।
सुसंस्कृत परिवारका कूटनीतिज्ञ जाकीले सभ्य भाषा र थोरै शब्दमा ठिकै भनेका थिए, ‘गिरिजाप्रसाद पहिले निर्णय गरेर कालान्तरमा मात्र विचार गर्ने व्यक्ति हुन्।’ नेपाली कांग्रेसको सिद्धान्तको मलामी गएर कोइरालाले ०६३ सालपछि त्यही पुष्टि गरे (गौतम, युवराज : वि.स. २०७३ : पृ. १) I”
यसै क्रममा गिरिजा आत्मकेन्द्रित व्यक्ति थिए भनेर चर्चित विद्धवान पत्रकार एवं लेखक देवप्रकाश त्रिपाठीले ‘घटना र विचार’ मा १८ फाल्गुन २०७६ मा प्रकाशित आफ्नो लेख “ठगहरू पनि सधैँ झुट बोल्दैनन्, किन ?” मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“गिरिजा सम्पूर्ण रूपले आत्मकेन्द्रित व्यक्ति थिए, किशोरवय शुरु हुनुअघि नै ‘भाइ’ (विश्वबन्धु) लाई पालैपालो साइकिल चढ्न दिनुपर्ने आदेश आफ्ना पिताजीबाट भयो भनेर साइकिल नै भाँचिदिएको घटनाले उनी कुन स्तरका आत्मकेन्द्रित व्यक्ति थिए भन्ने दर्शाउँछ । गिरिजाको आत्मकेन्द्रित स्वभाव पुष्टि गर्ने हजारौं दृष्टान्त छन् (त्रिपाठी, देवप्रकाश : वि.स. २०७६ : पृष्ठ १) I” क्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →