कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book :
आफ्नो देशलाई औधी मन पराउने देशभक्त नेताहरुलाई ‘रअ’ले कहिले पनि मन पराउँदैन तथा त्यस्ता देशभक्त नेतालाई पाखा लगाउन र आफुले चयन गरेका पात्रलाई हरकिसिमले
सहयोग गर्छ भन्ने दृष्टान्तहरु थुप्रै छन् I जस्तै काङ्ग्रेसमा बीपीपछिका सर्वमान्य नेताहरुमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता दिग्गज राष्ट्रवादी नेताहरु थिए तर उनीहरुलाई कसरी पाखा लगाइयो र किन लगाइयो भन्ने रहस्य काङ्ग्रेसका नेता र कार्यकर्ता तथा सम्पूर्ण देशभक्त नेपालीहरुले बुझ्न आवश्यक छ I लौहपुरुष गणेशमान सिंहले कसरी र किन काङ्ग्रेस पार्टी परित्याग गरे भन्ने विषयमा विद्धवान लेखक महेश्वर श्रेष्ठले स्वदेशनेपालडटकममा २३ चैत्र २०७४ को दिन प्रकाशित आफ्नो लेख “देशको सम्पूर्ण राजनीति विदेशी दलालहरुको कब्जामा गएको देखेर गणेशमान यसरी विरक्तिए” मा निम्नानुसार स्पष्ट रुपमा खुलासा गर्नु भएको छ ;
“गणेशमानको पार्टी परित्यागको खास कारणहरु – उहां भित्रको अपार देशभक्ति र अदम्य राष्ट्वाद । पार्टी भित्र राष्ट्रीय भावनालाई जोगाउन उहाँले अथक प्रयत्न गर्नु भयो । उहांका पक्षधरहरुले पार्टी फोड्ने सम्मलित हदसम्म नगएका पनि होइनन । जगन्नाथ आचार्यको नेतृत्वमा गठित नेपाली कांग्रेस पार्टी त्यसको नमूना हो जसलाई गणेशमान सिंहको अप्रत्यक्ष तर बरद साथ थियो । तर यसले मात्र काङ्ग्रेस संस्थापन पक्षको रौं हल्लाउन सकेन । ३० वर्षदेखि सत्ताले भोकाएका काङ्ग्रेसीजन सत्तारुपी सिनोमा मुख जोत्न मै मस्त रहे, गणेशमानको भनाई र भावनालाई कसैले वास्ता गरेनन, महत्व दिएनन । गिरिजाले देशलाई झुक्याएर गर्न खोजेको टनकपुर सन्धीलाई मदन भण्डारी नेतृत्वको प्रतिपक्ष र सर्वोच्च अदालतले समेत असफल पारिदिएकोमा राहतको सास फेर्नु भएका गणेशमानजीलाई मदन-आश्रितको दुर्घटनाको नाममा भएको शंकास्पद मृत्युले गहिरो आघात पुर्यायो । यो घाउमा खाटा पर्न नपाउंदै ५१ सालको कम्युनिस्ट सरकारले पहिले कसैले कहिल्यै नसुनेको महाकाली नदी एकीकृत विकास परियोजनाको प्याकेज भित्रको राष्ट्रघाती प्रावधानलाई बुझेर यसलाई संसदले पारित गर्ने निश्चित देखिए पछि उहांले “यो सन्धिमा सही गर्नु भनेको (देशको) मृत्यु पत्रमा सही गर्नु हो” भनेर ठाडो विरोध गर्नु भयो । तर आफ्नै पार्टीको सरकार र अगुवाईमा त्यस राष्ट्रघाति सन्धिलाई तत्कालिन संसदको अत्यधिक बहुमतले पारित गरेरै छाड्यो । यसरी आफैले जन्माएको पार्टी लगायत देशको लगभग सम्पूर्ण राजनीतिमा विदेशी दलालहरुको कब्जामा गएको देखेर उहां सारै विरक्तिनु भयो र पार्टीसंगको सम्बन्धलाई पुरै विच्छेद गर्नु भयो (श्रेष्ठ, महेश्वर : वि.स. २०७४ : पृ. १) I”
सर्वोच्च नेता गणेशमान सिंहले महाकाली सन्धिलाई संसदले पारित गरेपछि “यो सन्धिमा सही गर्नु भनेको (देशको) मृत्यु पत्रमा सही गर्नु हो” भनेर ठाडो विरोध गर्नु भएकोले ‘रअ’ चिढिनु स्वाभाविक थियो तसर्थ गिरिजामार्फत उहाँलाई पाखा लगाईएको प्रष्ट देखिन्छ I त्यस्तै किसिमले सन्त नेता कृष्णप्रसाद भट्टराईले पनि महाकाली सन्धि राष्ट्रघाती भएको धारणा बिबिसीमा राखेपछि उनीमाथि ‘रअ’को कुदृष्टि परेको पनि बुझ्न सकिन्छ I यस बारे चर्चित विद्धवान लेखक कृष्ण सेढाईले आफ्नो पुस्तक
“नेपालको अस्थिर राजनीति”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“नेपाली काङ्ग्रेसका नेता भूपू प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले महाकाली सन्धि अनुमोदन कै दिन बिबिसीलाई अन्तर्वार्ता दिँदै भनेका थिए, “I am very happy, treaty has been passed, though it is passed but it is impossible to implement (सन्धि पारित भएकोमा म खुसी छु यद्धपि यो पारित भयो तर कार्यान्वन हुन् असम्भव छ) ” भनेर सन्धि गलत भएको र कार्यान्वन हुन् नसक्ने सङ्केत त्यतिबेलै गरेका थिए (सेढाई , कृष्ण : वि.स. २०७० : पृ. १६३) I”
सन्त नेता प्रम कृष्णप्रसाद भट्टराई आफू भारत भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्रीको उपस्थितिमा गरिएको संयुक्त प्रेस सम्मेलनमा ‘चीनबाट नेपालले हतियार किन किन्यो ?’ भनेर सोध्दा उहाँले दिएको जवाफले पनि ‘रअ’ लाई बेखुश बनाएको सजिलै बुझ्न सकिन्छ I यसै सम्बन्धमा विद्धवान लेखक एवं परराष्ट्रविद् डा. दिनेश भट्टराईले बीपीविचारडट्कममा २८ भदौ २०७५ को दिनमा प्रकाशित आफ्नो लेख “परराष्ट्र मामिलामा पतनको पहिरो”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“२०४६ सालको जनआन्दोलनपश्चात् कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री शपथ लिइरहँदा देश नाकाबन्दीको आक्रान्तबाट गुज्रिएको थियो । नाकाबन्दी हटाएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने दायित्व वहन गर्दै प्रधानमन्त्री भट्टराई भारत भ्रमणमा जानुभयो । भारतीय प्रधानमन्त्री लगायतका नेताहरूसँग कुराकानी गरेर नाकाबन्दी हटाउन सफल हुनुभयो । भारतीय प्रधानमन्त्रीको उपस्थितिमा गरिएको संयुक्त प्रेस सम्मेलनमा उहाँलाई सोधियो– चीनबाट नेपालले हतियार किन किन्यो ? राजा वीरेन्द्रले चीनबाट हतियार किनेको विषयलाई प्रतिरक्षा गर्दैँ उहाँले जोड दिएर भन्नुभयो, ‘प्रत्येक सरकारलाई हतियार चाहिन्छ । मैले फाइल हेरेँ, भारतसँग पनि प्रस्ताव गरिएको रहेछ । भारतले तय गरेको मूल्य चीनको भन्दा ५ गुणा बढी रहेछ । त्यसैले हामीले जहाँ सस्तो र सुविधा हुन्छ, त्यही किन्ने हो’ भन्ने नेपालका प्रमको जवाफले परराष्ट्र नीतिमा देखिनुपर्ने निरन्तरता र संवेदनशीलता स्थापित गर्छ। (भट्टराई, दिनेश : वि.स. २०७५ : पृ. १) I
एउटा शिक्षित, विवेकी तथा देशभक्त प्रधानमन्त्री पाउनु देशकोलागि वरदान हुन्छ I आफ्नो देशको परम्परा संस्कृति जोगाउन कुनै पनि बाह्य शक्ति सित ऊ नडराउने हुन्छ I आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थको निम्ति विदेशी शक्तिको अगाडि झुक्दैन जसको उदाहरणको रुपमा सन्त नेता प्रम कृष्णप्रसाद भट्टराईलाई लिन सकिन्छ I उनले ब्रिटिस सांसदहरूको एक प्रतिनिधिमण्डललाई दिएको जवाफले उहाँ एक शिक्षित, विवेकी र देशभक्तको रुपमा इतिहासमा दरिनु भएको छ जुन घटनाको बारेमा चर्चित विद्धवान पत्रकार एवं लेखक देवप्रकाश त्रिपाठीले घटना र विचारमा २ कार्तिक २०७६ को दिन प्रकाशित आफ्नो लेख ‘धर्मनिरपेक्षतापछिका चौध ‘पापकर्म’मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“२०६३ सालको परिवर्तनपछि जनभावनाविपरीत मुलुकलाई रातारात धर्मनिरपेक्ष बनाइयो, यो राजनीतिक अभीष्ट पराया शक्तिको थियो भन्ने नबुझिएका होइन । काङ्ग्रेसको आवरणमा जीविका चलाइरहेका पराया पन्थीहरू बीपी कोइराला पनि धर्मनिरपेक्षताको पक्षमा भएकोले देशलाई धर्मनिरपेक्ष बनाइएको दावी गर्दछन् । तर, बीपीले कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएर आफ्नो उत्तराधिकारी बनाएका राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराईले ०४७ सालमा संविधान निर्माण गर्दै गर्दा उनले हिन्दूराष्ट्रको पक्षमा किन अडान राखेका थिए भन्नेचाहिँ उनीहरू स्मरण गर्न खोज्दैनन् । किसुनजी जति प्रजातन्त्रवादी थिए त्यति नै राष्ट्रवादी भएको विश्वास बीपीमा थियो । यही विश्वासका कारण बीपीपछि काङ्ग्रेसको नेतृत्व गर्ने अवसर किसुनजीलाई मिलेको हो ।
“०४७ सालमा ब्रिटिस सांसदहरूको एक प्रतिनिधिमण्डल नेपाल आएर प्रधानमन्त्रीका रूपमा रहेका कृष्णप्रसाद भट्टराईसँग भेटी संविधान (२०४७) मा हिन्दूराष्ट्रको पहिचान नराख्न आग्रह गर्दै नेपाललाई धर्मनिरपेक्ष बनाउन सुझाव दिँदा उनले दिएको जवाफ स्मरणयोग्य छ । ब्रिटिस सांसदहरूलाई भट्टराईको जवाफ थियो– हामी नेपालमा ब्रिटिस मोडलको संसदीय प्रजातान्त्रिक (वेस्ट मिनिष्टर) प्रणाली स्थापना गर्दै छौँ, त्यसैले हामीले बनाउँदै गरेको संविधानले बेलायती परम्परालाई पछ्याउनेछ । तपाईंहरू पहिले बेलायतलाई धर्मनिरपेक्ष मुलुक घोषणा गर्नुहोस्, हामी तपाईंहरूको अनुशरण गर्नेछौँ ।’ किसुनजीको जवाफले ब्रिटिस सांसदहरूको मुखमै तालाबन्दी गरिदिएको थियो । तर, राजनीतिलाई जीविकाको साधन बनाउने काङ्ग्रेस आवरणका पराया पन्थीहरू प्रचण्डहरूभन्दा तीन हात माथि उफ्रिएर धर्मनिरपेक्षताको पक्षपोषण गर्दै छन् (त्रिपाठी, देवप्रकाश : वि.स. २०७५ : पृ. १) ।” क्रमशः