पुनर्कर्जा आवेदनको म्याद थप

कठमाडौँ, असोज १३ गते । नेपाल राष्ट्र बैङ्कबाट उपलब्ध गराउने पुनर्कर्जा सुविधाका लागि आवेदन दिने समय थप भएको छ ।

राष्ट्र बैङ्कले एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज १४ सम्म तोकेकामा असोज ३० सम्म थप भएको छ ।
बढ्दो कोरोना सङ्क्रमणको रोकथामका लागि अवलम्बन गरिएको बन्दाबन्दी, निषेधाज्ञाजस्ता कारणले पुनर्कर्जाका लागि आवेदन गर्न नसकिएको गुनासो आएपछि म्याद थप गरिएको राष्ट्र बैङ्कले जनाएको छ । अब पुनर्कर्जाका लागि आवेदन पेस गर्न असोज ३० सम्म समय तोकिएको राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभागले सोमबार जारी गरेको सर्कुलरमा उल्लेख छ । केन्द्रीय बैङ्कले उपलब्ध गराइने पुनर्कर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधि २०७७ पनि तयार गरिसकेको छ ।
कार्यविधिअनुसार साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाखसम्मको पुनर्कर्जा दिन सकिने छ । बैङ्कले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा लिन सकिने व्यवस्था गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैङ्कले २ प्रतिशत ब्याज दरमा बैङ्क तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने भएको छ ।
बैङ्क तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्नसक्ने छन् । यस्तै विशेष पुनर्कर्जामा राष्ट्र बैङ्कले १ प्रतिशतमा दिने रकममा बैङ्क तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज लिनसक्ने छन् । साधारण पुनर्कर्जामा राष्ट्र बैङ्कले ३ प्रतिशत ब्याज दरमा दिने रकम बैङ्क तथा वित्तीय संस्थाले ५ प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउने छन् ।
राष्ट्र बैङ्कका अनुसार प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, १० करोडसम्मको विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजत पत्र प्राप्त क, ख र ग वर्गका इजाजत प्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने छ ।
उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा औसतमा प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग–व्यवसायले भने त्यस्तो कर्जा नपाउने कार्यविधिमा उल्लेख छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →