त्रिलोचन ढकाल
खल्ती, अरिङ्गाल जस्तै घुनघुनायो । म डराएको थिएँ । अरिङ्गालले टोकेर मानिस मरिरहेको अनि थाहा थियो । जिल्ला अध्यक्षकी प्यारी छोरीको पनि केही समयअगाडि अरिङ्गालले चिलेर निधन भएको कुरा सबैलाई थाहा थियो
।
मैले बाहिरैबाट लपेटाले हिर्काएँ । ऊ मरेन । खल्तीभित्र हात छिराए मार्छु भन्ने सोचाइ बनाउनु अनुचित थिएन । खल्तीभित्र हात हालेँ । खल्ती भित्र घुरघुराइरहेको त मोबाइल पो रहेछ । निकालेँ । हेरेँ । नजिकैकाे मावि प्रधानाध्यापकको रहेछ फोन । अभिवादनको आदनप्रदान भयो । उहाँले भन्नुभयो_
“माविको वार्षिकोत्सव छ । भब्यतापूर्वक सम्पन्न गर्ने योजना छ । यसमै अक्ष्यय कोशसँग सम्बन्धित सम्मान, पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने तयारी पनि छ । सर उपस्थित भइदिन पर्ने भयो । हार्दिक निमन्त्रणा गरेँ मैले ।”
यता उति नसोचिकन नै “हुन्छ” भनि दोएँ । माविमा मैले पनि स्थापना गरेको थिएँ, अक्ष्यय कोश । ब्याजबाट एकजना उत्कृष्ट शिक्षक लाई सम्मान र पुरस्कृत गर्नु थियो । तिन जना विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनु थियो । मेरो तर्फबाट मेरो काम सुनिश्चित थियो । त्यसो भएर मैले अरू जिज्ञासा राख्न आवश्यक ठानिन ।
तोकिएको दिन भनेको समयभन्दा एक घण्टापछि पुगियो । चौरमा विद्यार्थी र अभिभावक खचाखच् भरिएका थिए । मञ्च भने खाली थियो । मैले एकजना भलादमी जस्तो लाग्ने अभिभावक सँग अनुरोध गरेँ_
“कार्यक्रम किन सुरु भएको रहेनछ ?”
उहाँले भन्नु भयो_
“अफिसमा बैठक सकिएको छैन रे ।”
मैले अफिसको ढोका ढक्ढक् गर्नु अनौठो भएन । ढोका खुल्यो । भित्र त, कसलाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा टेबुल ठोकाठोक भएको रहेछ ।
आनन्दआश्रम, स्याङ्जा
०७७.१२.१६