कविता – आगत

उमाकान्त पाखरेल

हुरी चल्नु अघि
पात झर्छ सौहार्द्रताकाे
एक जाेडी परेवा अाएर
साउती मार्छन अाँगनमा , सहनशीलताकाे।

जब विपत्ति पर्छ
पहाड फैलिन्छ अञ्जुलीमा
अापसमा मान्छेले
अाफ्नै थाप्लाे थापिदिन्छन्
अनि, फुल्छ बाबरी ढकमक्क शिरमा।

संगतले स्वरुप बदल्नु अघि
एकपटक
मौन बस्छ शकुनि अागत नियाँलेर।

यसपटक भने
संगत पनि संक्रमित छ
सूर्य उदाउनु अघि,
मध्य रातमा सपना बाँच्छ
पिंजडाकाे मानिस र
अाफुबाट मुक्ति खाेजिरहन्छ, वर्तमान।

समय दुखेपछि
बिजुलीकाे नाङ्गाे तार जाेडिन्छ
अचानक छातिमा
छटपटिन्छ विपना अलिकति,अनि
विकल्पका सम्बन्धहरु गाँठाे पारेर
उत्सव मनाउन थाल्छ सन्नाटा ,
चुडिन्छ नाभि अस्तित्वकाे र
मौन हुन्छ दिगन्तमा चीरकालकाे लागि।
भद्रपुर-१०, झापा।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →