काठमाडौँ, जेठ १ गते । सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’को ठाउँमा निर्वाचन आयोगले आगामी ६ जेठमा निर्वाचन गर्ने भएको छ। निर्वाचनको मिति आउन मात्र ६ दिन बाँकी छ।
राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा प्रतिस्पर्धा गर्न तीन जनाको उम्मेदवारी परेको छ। २४ वैशाखमा आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार रामबहादुर थापा ‘बादल’, खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन्।
बादल र देवकोटा दुवै जना नेकपा एमालेबाट हुन्। यद्यपि आधिकारिक रुपमा सूर्य चुनाव चिन्हका उम्मेदवार भने बादल हुन् र देवकोटा नेता माधवकुमार नेपाल पक्षका, जसलाई कांग्रेस र माओवादीको समर्थन थियो।
बादल एमालेभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट र देवकोटा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट चुनावी मैदानमा होमिएका थिए। त्यस्तै तामाङ नेमकिपाबाट चुनाव लड्न लागेका हुन्।
नेकपा एमालेभित्रै चुनावमा एक पक्षले अर्को पक्षलाई नसघाउने अवस्थाका बेला यो उम्मेदवारी परेको थियो। पार्टी अध्यक्ष ओलीको असन्तुष्टिका बाबजुद माधव पक्षले बादललाई चुनावमा हराउनकै लागि देवकोटालाई विपक्षी गठबन्धनसँग मिलेर उम्मेद्वार बनाएको थियो।
जतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनतर्फबाट देवकोटाले पनि २४ वैशाखमा उम्मेदवारी दर्ता गरेका थिए। देवकोटालाई नै सहयोग गर्ने भनेपछि कांग्रेस र माओवादी केन्द्रले आफ्नो पार्टीबाट उम्मेदवार उठाएको छैन।
निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रिय राजनीति झनै पेचिलो बन्दै गएको अवस्था छ। विपक्षी गठबन्धनसँग एमालेको माधव पक्ष मिलेपछि निर्वाचनमा बादलका लागि चुनौतिपूर्ण थियो। तर, राजनीतिले अर्कै मोड लिएको छ।
एक पक्षले अर्को पक्षलाई देखि नसक्ने अवस्थामा पुगेका एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच बिहीबार अर्थात् ३० वैशाखमा एक खालको सहमति भएको छ। ओली र नेपालको सहमति भएपछि राष्ट्रिय सभा चुनावमा बादल र देवकोटाबीचको भिडन्त के हुन्छ? यतिबेला राष्ट्रिय चासोको विषय बनेको छ।
पार्टीले बादललाई ब्याक गर्ला कि देवकोटालाई? कि आफैं देवकोटा ब्याक हट्लान्? अनेकन टिका टिप्पणी हुन थालेका छन्। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले बादललाई कारबाही गरेको थियो। कारबाहीसँगै बादलको पद गुमेको थियो। रिक्त पदका लागि सम्भवतः एमालेले पनि देवकोटालाई ब्याक गर्न लगाएर बादललाई नै जिताउनेछ।
यता, माधव नेपालको भर पर्दा राष्ट्रिय सभा उपचुनावमा बागमती प्रदेशमा कांग्रेस र माओवादी ‘उत्तानो’ परेको टिका टिप्पणी हुन थालेको छ। काँग्रेस र माओवादीले उम्मेदवारी दिन नपाएपछि अब एमालेकै बादल र देवकोटा मध्ये एकजना राष्ट्रिय सभामा आउनेछन्।
ओलीविरुद्ध गठबन्धन बनाएर राष्ट्रिय सभा उपनिर्वाचनमा होमिने निर्णय गरेको माधव नेपाल पक्षले ओलीसँग सहमति गरेपछि काँग्रेस र माओवादी नेताहरुले नेता नेपालले धोका दिएको आरोप लगाएका छन्।
कुनैबेला ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि नेपाल पक्ष विपक्षी गठबन्धनहरुसँग मिलेर पार्टी फुटाउन तयारी अवस्थामा थियो। ओलीले माधव पक्षले सहयोग नगर्दा २७ वैशाखमा प्रतिनिधिसभामा विश्वासको मत समेत गुमाएका थिए।
विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दुई वा दुई भन्दा बढी दलहरु मिलेर बहुमतको सरकारको दावी गर्न ३ दिनको समय दिएकी थिइन्। उक्त समय बिहीबार राति ९ बजे सकिया र ओली प्रधानमन्त्री नियुक्त भए।
राष्ट्रपति दिएको समय सकिनुअगावै क्याप्टेन रामेश्वर थापाको निवास चपलीहाइटमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच भएको भेटवार्ता भएको थियो। उक्त भेटवार्ता सकारात्मक भएपछि नेपाल पक्ष एक कदम ब्याक हटेको थियो।
यदि भेटवार्ता सकारात्मक नभएको भए माधव पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने चेतवानी दिएको थियो। राजीनामा नआएसँगै ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिए।
ओली प्रधानमन्त्री नियुक्त भएपछि फेरी ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
माधव नेपाल पक्ष असन्तुष्ट बने पनि ओलीले भने हार खाएनन्, माधव नेपाल पक्षसँग संवाद गरेर पार्टीलाई फुटबाट जोगाउन लागि परे। तर, अब उनीहरुको बिग्रिएको सम्बन्धमा सधैंको लागि सुधार आएको हो÷होइन भन्न सकिन्न।
यदि ओलीले असन्तुष्ट नेपाल पक्षको माग पूरा नगरे पुनः विश्वासको मत लिने समयमा ओलीलाई असहयोग गर्न सक्छ।