वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौंमा ३४३ जना भक्तपुरमा ६२ जना र ललितपुरमा १३६ जनामा सङ्क्रमण पाइएको हो ।
आज देशका विभिन्न जिल्लामा १४ हजार १८२ जनाको नमूना परीक्षण गर्दा २ हजार ९३६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सक्रिय सङ्क्रमित ७ हजार माथि
काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार माथि रहेको छ । शुक्रबार अपरान्हसम्म देशभर २६ हजार ८२७ सक्रिय सङ्क्रमित हुँदा यी तीन जिल्लामा ७ हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमित भनेको कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसन (एकान्तवास) मा रहेका, अस्पतालमा उपचार गराइरहेका वा समुदायले बनाएको आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुको सङ्ख्या हो ।
पछिल्लो विवरणअनुसार काठमाडौंमा ५ हजार ४४३ भक्तपुरमा १ हजार ४५ र ललितपुरमा १ हजार १३१ सक्रिय सङ्क्रमित रहेका छन् ।
देशभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५०६ पुग्दा उपत्यकाभित्र ज्यान गुमाउनेको सङ्ख्या २ हजार ८६७ रहेको छ । अहिलेसम्म ललितपुरमा ५६९, भक्तपुरमा ३७३ र काठमाडौंमा १ हजार ९२५ जनाले यही भाइरसको कारण ज्यान गुमाउनु परेको छ ।