सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो–‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’
सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो।
उहाँले भन्नुभयो – ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरुलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरुलाई आव्हान गर्दछ ।’
मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अबसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।