काठमाडौं, असोज ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले आज (सोमबार) अपराह्न ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाए राम्रो हुने धारणा समेत राखे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ । तर हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाहिँ लोकतन्त्रलाई सुदृढीकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौँ ।’’
आयोग परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आयुक्त थपलियाले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले राजनीतिक दलहरूले आजै सो सूचि बुझाउन नसके भोलि (मङ्गलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो ।