पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार निराैला प्रहरी नियन्त्रणमा

काठमाडौं, मंसिर ३ गते । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई जिम्मा लगाएका हुन् । निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ ।स्थानीयले घेरा हालेपछि सुरक्षाका लागि उद्धार गरी सुरक्षामा राखिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी भरतबहादुर बोहोराले जानकारी दिए ।

एमाले उम्मेदवार निरौलाले भने लामो समयदेखि क्यान्सर रोगबाट पीडित तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे बुझ्न गएको बताएका छन् । निराैलाले पैसा बाँड्न गएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

एमालेको काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले पनि वक्तव्य निकालेर पैसा बाँडेको भनेर बद्नाम गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।बिहीबार रातिदेखि नै मौन अवधि जारी छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा कुनै दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →