काठमाडौँ, मङ्सिर ११ गते । सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् ।
प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन् ।
गठबन्धन भए पनि उनीहरूले ‘सोचेजस्तो’ मत आदानप्रदान नभएको भन्दै एकीकृत समाजवादी र माओवादीका केही नेताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यस्तै लामो संवादहीनता तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेपछि सम्भावित समीकरणका विषयमा आम चासो बढेको छ । तर, प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने शनिबारको छलफलपछि आशंका हटेको दाबी गरे । ‘विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न नेताहरू स्पष्ट हुनुहुन्छ,’ उनले कान्तिपुरसँग भने ।
प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि शुक्रबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबीच यही छलफल भएको उनले जानकारी दिए ।
पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षमा ५२ सिटमा निर्वाचित कांग्रेसले ३ सिटमा अग्रता लिइरहेको छ । दोलखा, स्याङ्जा र बाजुरामा मतगणना सुरु हुन सकेको छैन । यसरी प्रत्यक्षमा कम्तीमा ५७ र समानुपातिकमा ३४ सहित ९१ सिट जित्ने कांग्रेसको हिसाब छ । त्यस्तै १७ सिट जितेको माओवादीले एक सिटमा अग्रता लिइरहेको छ । मतगणना हुन बाँकी दोलखामा पनि जित्ने उसको दाबी छ । प्रत्यक्षमा १९ र समानुपातिकबाट १५ सहित ३४ सिट आफ्नो हुने माओवादी हिसाब छ ।
गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, समानुपातिकमा उसको प्रतिनिधित्व यकिन छैन । शनिबार मध्यरातसम्म एकीकृत समाजवादी २.५७ प्रतिशतमा छ । उसले ३ प्रतिशत पुर्याए कांग्रेस र माओवादीसहित एमालेले पनि एक/एक सिट गुमाउनेछन् । त्यस्तै गठबन्धनको अर्को सहयोगी लोसपाले प्रत्यक्षमा चार सिट जितेको छ भने जनमोर्चाले एक सिट निश्चित गरेको छ ।
बालुवाटार बैठकले निकालेको हिसाबमा गठबन्धनको मात्रै एक सय ४० मत पुग्छ । ‘गणना भइरहेको, रोकिएको र समानुपातिकतर्फको समेत परिणाम आउँदा सत्ता गठबन्धन १ सय ४० सिट आसपासमा पुग्छ, हामी सहजै बहुमतमा पुग्छौं । सरकार निर्माणकै लागि अन्य दल जोडजाड गर्नुपर्ने देखिन्न,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दाबी गरे, ‘प्रधानमन्त्री र प्रचण्डजीबीचको छलफलमा पनि गठबन्धन सँगै जाने कुरा भएको छ । दायाँबायाँ हुने आशंका छैन ।’
त्यस्तै गठबन्धनको सहयोगीका रूपमा उठेका प्रभु साह समूहको दुई सिट छ भने चार सिट (स्वतन्त्र निर्वाचित रेशम चौधरीका पितासहित) भएको नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनसँग संवादमा छ । त्यतिमात्र होइन, उपेन्द्र यादवको पराजयपछि जसपाका ६ जनालाई पनि गठबन्धनमा मिसाउने कसरत छ ।
गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरू बताउँछन् । देउवा र दाहाल दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । आलोपालो गर्ने विषयमा उनीहरू लचिलो भए पनि पहिलो पालो कस्को भन्नेमा भित्रभित्रै रस्साकसी चलिरहेको छ । यही पृष्ठभूमिमा बाह्य चासोसमेत देखिन थालेको छ । देउवासँग करिब एक घण्टा छलफल गरेर माओवादी अध्यक्ष दाहाल निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार राजदूत श्रीवास्तवले निर्वाचन परिणाम र सरकार निर्माणका विषयमा चासो राखेका थिए । उनले गठबन्धनको बहुमत पुग्ने/नपुग्ने र सरकार निर्माण कसरी हुन्छ भन्नेमा देउवासँग जिज्ञासा राखेका थिए । देउवाले प्रत्यक्ष र समानुपातिकतर्फको पूर्ण परिणाम आउँदा गठबन्धनले नै सरकार बनाउन सक्ने गरी बहुमत ल्याउने बताएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भेटवार्ता पुष्टि गर्दै समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रतिक्रिया दिए ।
यता, सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली पर्ख र हेरको स्थितिमा छन् । मतगणनाको मध्यान्तरमा गठबन्धनको बहुमत नपुग्ने र एमाले पहिलो दल हुने सम्भावना देखिएको थियो । त्यहीबीच गोरखा–२ बाट विजयी दाहाललाई बिहीबार टेलिफोन गरी ओलीले सहकार्यमा जान सकिने सन्देश दिएका थिए । तर, साँघुरो भए पनि सत्ता गठबन्धन बहुमतमा पुग्ने सम्भावना बढेपछि एमालेको सक्रियता तत्काल मत्थर भएको छ ।
वर्तमान गठबन्धन कायम रहेसम्म सरकार निर्माणमा एमालेले अग्रसरता नराख्ने उपमहासचिव विष्णु रिमालले बताए । बरु, आगामी सरकारलाई स्थिर बनाउन सहकार्यका लागि कांग्रेस तयार हुनुपर्ने एमालेको सन्देश छ । ‘गठबन्धनको बहुमत आउन पनि सक्छ वा एक/दुई सिट कम हुन सक्छ, गठबन्धन एक ठाउँमा हुन्जेल एमाले अग्रसर हुने कुरा आउँदैन,’ रिमालले भने, ‘हामी कांग्रेसभन्दा दुई/तीन सिट कमले दोस्रो हुन सक्ने स्थिति छ । यो अवस्थामा स्थिरता र विकासका लागि कांग्रेसले नै बढी जिम्मेवार ढंगले भूमिका खेलोस् भन्ने हाम्रो चाहना हो ।’
झिनो बहुमतमा सरकार बनाएर अस्थिरतातिर मुलुकलाई लैजानुभन्दा एमालेसँग मिलेर सरकार बनाउनुपर्ने मत पनि कांग्रेसमा छ । संस्थापन इतरपक्षमा रहेका केही नेताले यसका लागि कसरत गरिरहे पनि प्रधानमन्त्री देउवा भने माओवादीलाई ‘धोका दिनु नहुने र ओलीसँग सहयकार्य गर्न कठिन हुने’ तर्क गरिरहेका छन् ।
कांग्रेस प्रवक्ता महत कमजोर बहुमतमा सरकार बन्दैमा अस्थिरता नआउने दाबी गर्छन् । ‘हिजो झन्डै दुई तिहाइ बहुमतको सरकार पनि पूरा टिक्न सकेन । झिनो बहुमतको सरकार बन्दा झन् सतर्कता बढ्छ, नराम्रो काम गरियो भने सरकार ढल्छ कि भन्ने चिन्ता हुन्छ, त्यसैले अहिलेकै गठबन्धनको सरकार बन्छ,’ उनले भने ।
माओवादी नेता हरिबोल गजुरेल भने प्रधानमन्त्री पदलाई केन्द्रमा राखेर हुने गठबन्धनको अभ्यासले राजनीतिलाई थप समस्यामा पार्ने बताउँछन् । ‘चुनावी गठबन्धनदेखि नै नेताहरू गलत बाटामा छन् । विचार, एजेन्डालाई प्राथमिकता राख्नेभन्दा कसरी र कुन बाटोबाट प्रधानमन्त्री हुन सकिन्छ भन्नेमा बढी ध्यान गयो । जसपालाई सत्ता गठबन्धनबाट बाहिर निकालेर एमालेको कित्तामा पुर्याउनु, एमाले र राप्रपाबीच गठबन्धन हुनु कतैबाट पनि संगतिका कुरा थिएनन् । यसभित्र प्रधानमन्त्री बन्ने दाउ थियो,’ गजुरेलले भने, ‘निर्वाचनपछि पनि यस्ता कमजोरी सच्याउनेभन्दा प्रधानमन्त्री कसरी हुन सकिन्छ भन्ने दिशातिरै नेताहरूको दौडधुप सुरु भएको छ । यो चिन्ताको विषय हो ।’
विगतमा अपारदर्शी निर्णय हुँदा दुर्घटनामा परिएको उल्लेख गर्दै नेता गजुरेलले आलोपालो प्रधानमन्त्रीदेखि सरकार निर्माणका कुनै पनि विषयमा अपारदर्शी निर्णय गर्न नहुने बताए । ‘हिजो नेकपामा छँदा पनि पारदर्शी छलफल भएन । आलोपालो प्रधानमन्त्री चलाउने भनेर अँध्यारो कोठामा बनेको समझदारी पछि दुर्घटनामा पर्यो,’ उनले भने, ‘यस पटक पनि त्यही बाटोमा जान खोजिएको हो कि भन्ने लागेको छ । यो गतिविधिले मुलुकलाई हित गर्दैन । स्थायित्व र स्थिरताका लागि नेताहरूले सोच्नुपर्छ ।श्रोत :कान्तिपुर