पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

काठमाडौं, पुस २२ गते । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ ।

उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवाज उठिरहेको छ । तर अर्थमन्त्री पौडेल भने श्वेतपत्र र पूरक बजेट तत्काल नल्याउने योजनामा छन् । उनले यसको संकेत अर्थ मन्त्रालयका अधिकारीहरुलाई दिइसकेका छन् ।

‘मन्त्रीज्यूले सबैभन्दा पहिला अर्थतन्त्रको अवस्था, समस्या र समाधानका उपायबारे सरोकारवाला, विज्ञबाट विस्तृत ब्रिफिङ लिने गरी काम थाल्नुभएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तत्काल श्वेतपत्र र पूरक बजेटको तयारीको निर्देशन प्राप्त भएको छैन ।’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँगको कुराकानीमा अर्थमन्त्रीले श्वेतपत्र ल्याउनुपर्ने धारणा राखेका थिए । उनले भनेका थिए, ‘अर्थतन्त्रका धेरै तस्वीर बाहिर आएका छैनन्, त्यसकारण वर्तमान सरकार र अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्नुपर्छ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्ने अर्थमन्त्री जनार्दन शर्मा हुन् र हाल उनको दल पनि सरकारमा नै छ । त्यसैले पौडेलले यही बजेटलाई निरन्तरता दिनसक्ने आकलन पनि छ । निवर्तमान अर्थमन्त्री शर्मा पनि बजेटका विषयमा छलफल नभएको बताउँछन् ।

बजेटको आकारसँग भने अर्थमन्त्री पौडेल असन्तुष्ट रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटको आकार ठूलो बनाएकै कारण आम्दानी र खर्चको बीचमा ठूलो खाडल देखिएको उनको निष्कर्ष छ । यसलाई सम्बोधन गर्ने विषयमा भने पौडेलले पहिले सरोकारवाला, विज्ञ र अर्थ मन्त्रालयभित्रै छलफल गरिरहेका छन् ।

पुस मसान्तमा यो बजेट कार्यान्वयनको ६ महिना पूरा हुन्छ । त्यसपछि सरकारलाई बजेट संशोधन गर्ने सुविधा हुन्छ । अर्थमन्त्री पौडेललाई श्वेतपत्र र पूरक बजेट नल्याई अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाउने र प्राथमिकता परिवर्तन गर्न सक्ने सुविधा छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →