काठमाडौं, पुस २४ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिंङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताउनुभएको छ ।
काउन्सिलमा नयाँ अनलाइनहरुका लागि छलफलमा निहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको बताउनुभयो ।
‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
छलफलमा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताउनु भएको छ ।
अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण गर्नुहुँदै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो ।