काठमाडौं, फागुन १ गते। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिमा जति परिवर्तन भए पनि रेडियोको उपयोगिता कहिल्यै नसकिने बताएका छन् ।
१२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सोमबार ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलल सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य सँधै उज्यालो रहेको बताए ।
उनले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय पहल गर्न सरकार तयार रहेको बताए । सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि कानुन नबनाइने उनको प्रतिबद्धता थियो । ‘सामुदायिक रेडियोको सन्दर्भमा संघीय अधिकारसँग बाझिने गरी कुनै अभ्यास गर्नै मिल्दैन,’ उनले भने ।
उनले भने, ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन र सामुदायिक रेडियो पनि पछि पर्नु हुँदैन । जेजति समस्या छन्, तिनको समाधानका लागि छलफल गरौँ । यसका लागि दिवस कुरिरहनुपर्दैन ।’