काठमाडौं, वैशाख ६ गते। प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल गर्न सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको उनले जानकारी दिए। तर अर्को बैठक कहिले बस्नेबारे समय भने तोकिएको छैन।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्रीप पूर्णबहादुर खड्का र मुख्यसचिव शङ्करदास वैरागी सहभागी थिए।
नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् रहने व्यवस्था । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने र प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था छ। नेपाल सरकारको मुख्यसचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने प्रावधान छ।
लामो समेदेखि प्रधानन्यायाधीश पद रिक्त छ।