गलकोट (बागलुङ), कात्तिक १७ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो ।
सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राख्नुभयो । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भन्नुभयो, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”
देउवाले नेपाली कांग्रेस पुनः संगठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताउनुभयो । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गर्नुभयो । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताउनुभयो ।