शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै

काठमाडौँ, वैशाख ८ गते । २१ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको थियो ।

निकासकै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आ–आफ्नोतर्फबाट पहल गरिरहनुुभएको छ । उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबिच अनौचारिक तहमा कुराकानी भइरहेको छ । ती कुुराकानीका आधामा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरूको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागलाई पारस्परिक संवादका आधारमा प्याकेजमा सम्बोधन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले राजनीतिक र प्रशासनिक रूपमा एकैसाथ शिक्षकहरूका माग र मुद्दाका बारेमा सुनुुवाइसहित सम्बोधनमा गरिने बताउनुभयो ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा मन्त्रालका उच्चाधिकारीसहितलाई निर्देशन दिनुुभएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →