काठमाडौँ असार २२ गते | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक समिक्षाका साथै
नियमावली संशोधन मस्यौदामाथि छलफल, राष्ट्रिय जागरण अभियानको समिक्षा र भ्रातृ तथा सभेच्छुक संस्थाको विधानका विषयमा छलफल हुने जनाइएको छ ।
केन्द्रीय समितिको बैठकका लागि कांग्रेस नेताहरुले अन्तरिक छलफल पनि तिब्र पारेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नजिकका केन्द्रीय सदस्यहरुहरुसँग वैठकबारे छलफल गरेका हुन् । सभापति देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको थियो । तर पौडेल राजधानी बाहिर भएकाले उपस्थित भएनन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनमा जानकारी गराएको बताए ।
बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन् ।
महामन्त्री डा. शशांक कोइराला निवासमा कोइराला–पौडेल पक्षका नेताको बैठक बसेको थियो। त्यसमा पौडेल सहभागी भएका थिए। बैठकमा नाफाघाटा आकलन गर्दै केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीतिमाथि छलफल भएको थियो। केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने विषयमै छलफल केन्द्रित रहेको नेता डा. शेखर कोइरालाले बताए।
डा. शशांक निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर, सुजाता कोइराला, प्रदीप पौडेल, गगन थापालगायत सहभागी थिए।
गत २५ वैशाखमा पार्टीले सुरु गरेको जागरण अभियानको पहिलो चरण सकिएपछि ३० वैशाखमा कांग्रेसले भदौमा सुरु हुने दोस्रो चरणअघि प्रदेशदेखि स्थानीय तहसम्म सबै संरचना निर्माण गर्ने घोषणा गरेको थियो।