हेटौँडा, असार ३० गते । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयमा पानी जम्मा हुने क्रम बढेसँग खतराको संकेत देखिएपछि सतर्कता अपनाइएको छ ।
जलाशयको जलाधार क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर जलाशय पानी सङ्कलन एकाएक तीब्र भएपछि आयोजनाले सतर्कता अपनाएको हो ।
जलाशय भरिने संभावना बढेपछि जलाशयमा भरिएको पानीको व्यवस्थापन गर्न नियन्त्रित निकास दिने तयारी गरिएको छ । सोमबार विहान ८.०० वजेदेखि जलाशयबाट निकास दिने तयारी गरिएको हो ।
जलाशयमा वरपरको क्षेत्रमा पानी अधिक परेपछि अहिले प्रतिघण्टा दुई मिटरको दरले जलाशयमा पानी भरिनेक्रम बढेको छ । यो क्रम बढिरहेमा जलाशय र वरपरको क्षेत्रमा खतरा बढ्ने भएकोले ढोका खोलेर पानी निकाल्नु पर्ने अवस्था आउने कुलेखानी प्रथमका आयोजना प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।
कुलेखानी आयोजनाको जलाशय ईन्द्रसरोवरमा समुन्द्री हतहबाट १५ सय ३० मिटरको उचाईसम्म पानी जम्मा सङ्कलन हुने रहेको छ । जलाशयमा हाल १५ सय २५ दशमलव ७५ मिटरसम्म पानी सङ्कलन भएको छ ।
जलाशयका लागि पानी आउने क्षेत्रका खोलानालामा पानीको बहाव बढेसँगै जोखिम बढेको हो । जलाशय भरिँदै गएपछि आयोजनाले सचेतता अपनाउनुका साथै आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
आयोजनाको तल्लो तटीय क्षेत्र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासहित सिन्धुली, सर्लाही र रौतहट जिल्लाका वागमती खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।