काठमाडौं , वैशाख २ गते । नयाँ वर्षको उपलक्ष्यमा नेपथ्यले आफ्ना पुराना गीतहरूमध्ये सन् २००३ मा रिलिज भएको एल्बम ‘भेडाको ऊनजस्तो’बाट एउटा गीत छनोट गरेको छ।
थोरै अवधिको भएकैले ‘छोटो गीत’ नाम दिइएको यस पुरानो गीतका श्रोताहरूले अब आफूलाई यसका दर्शक पनि बनाउन सक्ने भएका छन्। गीतको लम्बाइ एक मिनेट ४९ सेकेन्ड छ। सूर्यास्तसँगै दिन ढल्दै गर्दाको परिवेशमा तयार पारिएको यो म्युजिक भिडियोले दर्शकलाई अघिल्लो वर्ष २०७६ लाई हार्दिक बिदाइ गर्दाको मनस्थितितर्फ पनि लैजान सक्छ।
यस गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका थिए। नेपथ्यको छैटौं एल्बम अर्थात् ‘भेडाको ऊनजस्तो’ तयार पार्ने बेलामा डानियल ब्यान्डका बेस गितारिस्ट थिए।
पछिल्लो केही वर्षयता नेपथ्यले आफ्नो युट्युब च्यानलमार्फत् नयाँ गीतहरू सार्वजनिक गर्दै आइरहेको छ। त्यसैगरी पहिल्यै रिलिज भइसकेका पुराना गीतहरूलाई नयाँ ‘म्युजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रूपमा तयार पारेर प्रस्तुत गर्ने मञ्चका रूपमा पनि युट्युब च्यानलको उपयोग गर्न थालेको छ। यसै प्रक्रियाअनुसारै भर्खर केही दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रूपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनः प्रस्तुत गरेको थियो। त्यो गीत पनि ‘भेडाको ऊनजस्तो’ एल्बमबाटै लिइएको हो।
‘कुनै समय श्रोताहरूको मनमा बसेका हाम्रा पुराना एल्बमका गीतहरूलाई पुनः ताजा बनाउँदै त्यसलाई भिडियोका रूपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरूसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रूपमा हामीले यो कदम चालेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्यान्डका भिडियोहरूको निर्माता संस्था, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो कदमलाई निरन्तरता दिँदै हामी छिट्टै नै नेपथ्यका सबै गीतहरूलाई हेर्नसमेत मिल्ने हिसाबले हाम्रो आधिकारिक युट्युब च्यानलमा राख्ने जमर्को गरिरहेका छौं।’
यतिबेला रिलिज भएको भिडियो ‘छोटो गीत’ निर्माणको अनुभवबारे पनि श्रेष्ठले जानकारी दिए। उनका अनुसार यसको दृश्यांकन दक्षिणी अस्ट्रेलियाको एडिलेडस्थित सुन्दर एल्दिंगा समुद्र किनारमा गरिएको हो। आकाश र पानी जोडिएको देखिने क्षितिजमा सूर्यास्त हुँदै गर्दाको मनमोहक दृश्य यसमा समेटिएको छ।
‘ब्यान्ड सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया टुरमा भएकै बेला यसको छायांकन गरिएको थियो,’ उनले भने, ‘त्यस टुरमा हामीले ‘भेडाको ऊन जस्तो’ एल्बमकै अर्को गीत पनि छायांकन गरेका छौं जुन गीत हामी छिट्टै प्रस्तुत गर्नेछौं।’