काठमाडौं, असार-५ । युरोकप २०२० मा समूह एफ ग्रुप अफ डेथको रुपमा छ । जहाँ तीन पूर्व च्याम्पियन छन् । त्यसैले यो समूहको हरेक खेल उत्तिकै प्रतिक्षित र महत्वपूर्ण बनेको छ ।
त्यही समूह डी अन्तर्गत आज पोर्चुगल र जर्मनीबीच खेल हुँदैछ । खेल जर्मनीको घरेलु मैदान म्युनिखमा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।
हंगेरीसँगको खेलमा ८४ मिनेटसम्म गोल गर्न नसकेको पोर्चुगलले त्यसपछि ३ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जर्मनी भने आफैंले गरेको गोलमा पराजित बनेको थियो ।
जर्मनीविरुद्ध जित हात पारे पोर्चुगल नकआउट चरणमा पुग्नेछ । तर जर्मनीलाई भने प्रतियोगितामा अघि बढ्न जितको आवश्यकता छ । स्पेनसँग सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी पोर्चुगलसँग पराजित भएमा लगातार दोस्रो पटक ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ ।
सन् २०१८ को विश्वकपमा साविक विजेताको रुपमा रहेको जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनीलाई घरेलु मैदानको केही फाइदा रहे पनि पोर्चुगल पहिलो जितले उच्च मनोबलका साथ मैदान उत्रने छ ।
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जर्मनीसँग आफूहरु नडराउने बताएका छन् । ‘म जर्मनीसँग डराएको छैन । मेरो विचारमा दुवै टिमले एक अर्कालाई सम्मान गर्छन् किनकि दुवै टिमसँग खेल जित्न सक्ने शक्ति छ,’ सान्तोसले भने ।
उनले जर्मनीमै गएर जर्मनीविरुद्ध खेल्दा पोर्चुगललाई फेभरेट मान्नु लाइन क्रस गर्नु भएको बताए । यदि खेलाडी त्यो अवस्थामा गए आफूहरुले बराबरी समेत गर्न नसक्ने बताए ।
उता जर्मनीका प्रशिक्षक योकिम लो भने पोर्चुगलसँग खेल्नुअघि निकै सचेत छन् । उनले पोर्चुगलसँग रोनाल्डो बाहेक अट्याकमा अरु खेलाडी समेत रहेको र ठूला खेल जित्न सक्षम रहेको बताएका छन् ।
‘पोर्चुगलसँग अट्याकमा रोनाल्डो मात्र छैनन्, ४–५ जना क्षमतावान् खेलाडी छन् । उनीहरु आफैं यस्तो ठूला खेलको निर्णय लिन सक्छन् । उनीहरु प्राविधिक रुपमा बलियो छन् । उनीहरुलाई किनारामा राख्न कठिन छ किनकि उनीहरुबाट बल खोस्न कठिन छ ।’
यी दुई टोलीबीच विगत हेर्ने हो भने जर्मनी धेरै अघि छ । पछिल्लो पटक सन् २०१४ को विश्वकपमा जर्मनीले पोर्चुगललाई समूह चरणमा पराजित गरेको थियो ।
सन् २००० को युरोमा पोर्चुगलले जर्मनीलाई हराएको थियो । त्यसयता पोर्चुगलले जर्मनीलाई ठूलो प्रतियोगितामा हराएको छैन । २००६ को विश्वकप तथा २००८ र २०१२ को युरोकपमा जर्मनीले पोर्चुगललाई हराएको थियो ।
अहिलेसम्म यी दुई टोली १८ पटक भिड्दा जर्मनीले १० खेल जितेको छ भने पोर्चुगलले ३ खेल जितेको छ । बाँकी ५ खेल बराबरीमा सकिएको थियो ।