न्यादी हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आजदेखि निष्कासनमा आएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख १२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी २० लाख ९२ हजार पाँच सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले उल्लेख गरेको छ ।

आवेदकमध्ये २० लाख ९२ हजार पाँच सय कित्ता सेयर गोलाप्रथाबाट दुई लाख नौ हजार दुई सय ५० जनाले १० कित्ताका दरले पाउने छन् । हाल आईपीओमा २४ लाख हाराहारीको आवेदन पर्दै आएको छ ।

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै, संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीका लागि तीन लाख कित्ता सेयर जारी गरेको थियो ।

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →