काठमाडौँ, वैशाख ४ गते । अमेरिकाको टेक्सस राज्यमा नेपालीद्वारा संचालित ‘हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल’ अर्थात् एचडिएनपी अन्तर्राष्ट्रियले इस्टर पर्वको अवसरमा बिपन्न वर्गका बालबालिकालाई पुस्तक र खाजा राख्ने झोला वितरण गरेको छ ।
उक्त क्षेत्रमा आय श्रोत कम भएका र सुबिधा प्राप्त नगरेका समेतलाई ३०० वटा पुस्तक तथा ३०० वटा खाजा राख्ने झोला वितरण गर्न सफल भएको छ ।
अप्रिल १६ का दिन उक्त कार्यक्रम टेक्सस राज्यको ड्यालसको युथ वर्ल्डमा भएको थियो । कार्यक्रम संयोजक श्रीयम जोशी रहेका थिए । एचडिएनपी अन्तर्राष्ट्रियले आज भएको कार्यक्रममा सहयोग र स्वयम सेवक रुपमा खट्नु हुने सबैलाई धन्यबाद दिएको छ ।
एचडिएनपी अन्तर्राष्ट्रियका संस्थापक देवी डेविड आचार्यले बिशेष गरि रतु अदिल तथा डुल्से एनसेल्मोले खाजा पुरिया बनाउन अहम भूमिका निर्वाह गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।
संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ ।
उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ भने एचडिएनपी इन्टरनेसनलले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।