कञ्चनपुर,वैशाख ४ गते । आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव , शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए ।
‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्यो ।’
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चुरेको बत्छेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदुर थिइन् रञ्चुला । एकल महिला उनी ज्याला–मजदुरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन् । श्रीमान्को ७ वर्षअघि भारतमा मृत्यु भएको थियो ।
टाउको दुखेपछि उनी मंगलबार छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई
‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो । त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक गरियो ।