काठमाडौं, वैशाख १५ गते । वायुसेवा सञ्चालक संघ नेपालले भोलि (शुक्रबार) देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।
तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् । अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको कँडेलले बताएका छन् ।
संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।
वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।