काठमाडौं, असोज ३ गते । नेपालमा डेंगु सङ्क्रमणबाट अहिलेसम्म २० जनाको मृत्यु भएको छ । विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य प्रमुख डा.गोकर्ण दाहलका अनुसार डेंगुको सङ्कमणबाट २० जनाको मृत्यु भएको हो । उनका अनुसार मृत्यु भएका ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।
दाहलका अनुसार, हालसम्म ७५ जिल्लाबाट १६ हजार ५८७ जनामा डेंगु पुष्टि भइसकेको छ । यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ । जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ । त्यस्तै, अगस्ट महिनामा तीन हजार ७०८ जनामा डेंगु पुष्टि भएको छ । सेप्टेम्बर महिना सुरु भएदेखि १८ दिनमा ११ हजार ९९४ जनामा डेंगु पुष्टि भएको पाइन्छ ।