संसद्मा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई सभापति देउवाको निर्देशन

पुस ३ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ ।” सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे ।

कार्यक्रमपछि बाेल्दै महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए ।

यस्तै पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिनुभएको जानकारी दिए । उनले कांग्रेस संसद्मा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।

नेता डा शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे ।

अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे ।

नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उहाँकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →