काठमाडौं, पुस २३ गते ।राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा भएको घटनामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको छ।
मानव अधिकार आयोगको पुस १९ गते बसेको बैठकले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिश गर्ने निर्णय गरेको हो। पीडित परिवारले किटानी जाहेरी दिएका ६६ जना र सरकारले गठन गरेको आयोगले दोषी ठहर गरेका ६४ गरी १३० जनामाथि अनुसन्धान गर्न सिफारिश गरेको हो।
२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो।
१६ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको जनाउँदै मानव अधिकार आयोगले पीडित परिवारलाई न्याय दिन सरकारलाई निर्देशन दिएको हो। झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।