मनी प्लान्ट : किन घरभित्र रोपिन्छ, कस्तो मलमाटोमा सप्रिन्छ ?

हिजोआज सहरका धेरै घरमा मनी प्लान्ट सजाउने गरेको पाइन्छ । हरियो र चौडा पात भएको लहरा फैलिने बिरुवालाई मनी प्लान्ट भन्ने गरिन्छ । वैज्ञानिक नाम एपिप्रिनम रहेको यस्तो बिरुवालाई घरलाई आकर्षक देखाउनुका साथै हरियो रंगले एक किसिमको ऊर्जा समेत दिन्छ ।

मनी प्लान्टका विभिन्न प्रजाति पाइन्छन् । सेतो, पहेंलो र हल्का हरियो रंगका पात भएका धेरै प्रकारका पाइन्छन् । मञ्जुला, मार्बल कुइन, गोल्डेन मनी प्लान्ट, लेमन लाइम र निओन मनी प्लान्टहरु नेपालमा पाइन्छ । जसको प्रतिबोट मूल्य बजारमा ३०० देखि ६०० माथिसम्म पर्न जान्छ ।

मनी प्लान्टको बिरुवा थाइल्याण्डबाट भारत हुँदै नेपाल ल्याइन्छ । पहिलाका बिरुवा छिट्टै सर्थे भने पछिल्लो समय क्रस गरेर हाइब्रिड मनी प्लान्ट गर्न थालिएको छ । सरेमा पनि रङ फरक–फरक देखिन सक्छ । त्यसैले यो भारतबाट नै मगाइन्छ ।

मनी प्लान्टले दिउँसोको समयमा विकिरणको प्रभावलाई कम गरेर अक्सिजन छोड्छ । त्यति मात्र होइन, यसलाई वायु शुद्धीकरणमा पनि मनी प्लान्टको ठूलो भूमिका हुन्छ ।

सदावहार बिरुवा

मनी प्लान्ट सदावहार बिरुवा हो । यसलाई हुर्काउन सहज छ, कुनै विशेष हेरचाहको जरुरी पर्दैन । राम्रोसँग लहरा जान पायो भने ४०० मिटरसम्म फैलिन सक्छ । यसको डाँठ चार सेन्टिमिटरसम्म मोटाइ हुन सक्छ । यसको बिरुवा परिपक्व हुँदै जाँदा पातहरू ढल्छन् ।

कहिले रोप्ने ?

मनी प्लान्ट वर्षभरि कुनै पनि समयमा रोप्न सकिन्छ । तापमान प्रतिरोधी बिरुवा भए पनि अत्यधिक चिसोमा भने यो फस्टाउँदैन ।

चिसोमा भन्दा गर्मी ठाउँमा मनी प्लान्ट राम्ररी सप्रिन्छ । विशेषगरी असार–साउन महिना यसका लागि सहज सिजन हो । इन्डोर प्लान्ट भएका कारण बाहिर राख्न परेमा गर्मी मौसममा राख्न सकिन्छ ।

कसरी हुर्काउने ?

– मनी प्लान्टको बिरुवा काटेर रोपिन्छ । मनी प्लान्टको पुरानो हाँगाबाट काट्नुपर्छ ।

– काटिएको मनी प्लान्ट पानीमा रोप्दै हुनुहुन्छ भने ३–४ दिनमा पानी फेर्नुपर्छ । नत्र जरा सडेर बिग्रन्छ ।

– मनी प्लान्ट रोप्न माटो, बालुवा त्यसमा छ भने कम्पोस्ट मल वा गाईको गोबर मल मिसाएर मनी प्लान्टको लागि तयार गर्नुपर्छ । तयार गरिएको सामग्री प्वाल भएको गमलामा राख्नुपर्छ । माटोमा पानी जम्मा हुँदा जरा बिग्रिन थाल्छ, जसकारण मनी प्लान्टका पातहरू सुक्दै बिग्रन थाल्ने भएकाले प्वाल भएको गमला उपयुक्त हुन्छ ।

– मनी प्लान्टको पातमा खैरो दाग ढुसीको कारणले हुन्छ । यसका लागि भाँडोको माटोमा बालुवा वा कोकोपिट मिसाएर खैरो दाग भएका पात टिपेर फालिदिनुपर्छ ।

– मनी प्लान्ट झुण्डिएको टोकरीमा रोपेको भए माटो, कम्पोस्ट, झारपात र कोकोपिट मिसाउन सकिन्छ । कोकोपिट मिसाउँदा झुण्डिएको टोकरीको तौल भारी हुँदैन ।

– धेरै पानी दिनु भनेको मनी प्लान्टको सबैभन्दा ठूलो शत्रु हो । त्यसैले बिहान एकपटक मात्र पानी दिनुपर्छ ।

– सबै प्रकारका मनी प्लान्टलाई प्रत्यक्ष सूर्यको प्रकाश पर्ने ठाउँमा राख्न हुँदैन । यसको लागि थोरै छाया र कुना भए राम्रो हुन्छ, तर पूर्ण अँध्यारो भने हुनुहुँदैन । छायामा राख्दा यसको माटो छिटो सुख्खा हुँदैन । गमलाको माटो सुक्खा भएपछि पानी चाहिएको भन्ने बुझ्नुपर्छ ।

– मनी प्लान्टमा किरा लागेमा १० दिनमा एक पटक एक लिटर पानीमा ५ एमएल निमको तेल मिसाएर बिरुवामा स्प्रे गर्नुपर्छ । त्यसबाहेक भाँडा माझ्ने साबुनको ५ चम्चा झोल ३ लिटर पानीमा हालेर घोल बनाएर किरा परेको भागमा स्प्रे गर्न सक्नुहुन्छ । यो प्राकृतिक विधि हो ।

– गर्मीयाममा मनी प्लान्टमा पानी स्प्रे गर्नुहोस्, ताकि पातहरू ओइलाउँदैन ।

– मनी प्लान्ट बाक्लो देखाउन त्यसलाई समय–समयमा काटछाँट गर्नुपर्छ । जसकारण बिरुवामा छेउका हाँगा निस्कन्छन् र बिरुवा बाक्लो हुन थाल्छ ।

– मनी प्लान्टको भाँडोलाई केही दिन बिराउँदै अलिकति घुमाउनुपर्छ । जसले गर्दा बिरुवा चारैतिरबाट उज्यालो हुन्छ र समान वृद्धि हुन्छ ।

– दुई महिनामा एकपटक माटो र मल गमलामा हालेर मिसाउनुपर्छ ।
(रेड रोज नर्सरीका सञ्चालक कार्कीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित) अनलाइन खबरबाट

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →