काठमाडौं, चैत ८ गते । अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सरकारको पछिल्लो निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले राज्यकोषमा सञ्चित रकमको अभाव भइरहेको बेला गरिएको यो निर्णयले अर्थतन्त्रमा दुरगामी असर पर्ने भन्दै आलोचना गरेका छन् ।
प्रवक्ता श्रेष्ठले लडाकुहरूलाई विगतमा गरिएको अर्बौं भत्ता दुरुपयोग र पारदर्शी नभएको भन्दै माओवादी नेतामाथि प्रश्न उठिरहेको बेला पुरानो हिसाब नदेखाई फेरि ठूलो रकम वितरणले आर्थिक अराजकताको पराकाष्ठा भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘अयोग्य भनिएका लडाकु को, कहाँ र कुन अवस्थामा छन् भन्ने एकिन हुनसक्ने अवस्था छैन र यसको अभिलेख पनि छैन । यो फेरि पनि कुनै पार्टी विशेषले अकुत रकम जम्मा पार्ने र हिसाब नदेखाउने विगतको अभ्यासकै निरन्तरताको दोस्रो भाग हुनेछ ।’मन्त्रिपरिषद बैठकले यही सोमबार अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।