इस्लामावाद, चैत २० गते । सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।
उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तीमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ ।
गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पुर्याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।
मुद्रास्फीति गत वर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।
मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताउनुभयो ।