काठमाडौं, चैत २१ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुगेर निरीक्षण भ्रमण गरेका छन् ।
सोही अवसरमा उनले सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन समेत गरेका छन् ।
श्रेष्ठले सशस्त्र प्रहरी बलले नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्न गरेको कार्य सराहनीय रहेको बताउँदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथै भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफूलाई अब्बल साबित गराएको बताए ।
आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको भन्दै उनले खुशी व्यक्त गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार श्रेष्ठले प्रधान कार्यालयमा देशभरिका वरिष्ठ अधिकृतहरु भेला गरेर छलफल गर्ने विषय प्रशंसनीय रहेको बताउँदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपालसंग सम्बन्धित कानूनी विषयहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिँदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउँदै संगठनलाई प्रभावकारी ढंग कार्यसम्पादन गर्न पूर्णरुपमा सहयोग हुने बताए ।