काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपतिले कैद मिनाहा गरेका रिगल सर्वोच्च अदालतको आदेश लगत्तै पक्राउ परेका छन् ।प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको जनाएको छ ।
यद्यपि उनले यसअघि नै सामाजिक सञ्जाल मार्फत आत्मा समॅपण गर्ने बताएका थिए। सर्वोच्चले रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनको खोजी गरेको थियो । अदालतले रिगलले भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्ने/छोट्याउने) गरी भएका काम कारबाही, राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचारहरुसमेत उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको थियो ।सर्वोच्चको निर्णयमा भनिएको छ ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी माथि उल्लेख भएबमोजिमको कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको एघार वर्ष, एघार महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानुन बमोजिम असुल गर्नु भनी प्रत्यर्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।’
२०७२ असार २८ गते बाँकेका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले रिगल लाई गणतन्त्र दिवशको अवशरमा आममाफी दिएका थिए।