विराटनगर, कात्तिक १७ गते । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार तत्काल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको हो ।
मुख्यमन्त्री कार्कीले कांग्रेसबाट पनि थप एक जनालाई नियुक्त गर्न खोजेका छन् । स्राेतका अनुसार उनले कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउन खोजेका छन् । माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको बैठकपछि आजै मन्त्रीपरिषद् विस्तार हुने बताए । उनका अनुसार नयाँ मन्त्रीको शपथ ग्रहण पनि आजै गराउने तयारी छ ।
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । आज थप गर्ने तयारी गरेका मन्त्रीको पनि विभाग तोक्ने विषयमा सहमति भएको छैन ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।
तर संकटमा आफूलाई साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीको अडान छ । गठबन्धन दलका नेतासँगको छलफलमा मुख्यमन्त्री कार्कीले ढिलोचाँडो एमाले आफैं बाहिरिने भएको कारण बर्खास्त नगर्ने बताएका थिए ।