अनेरास्ववियुले भन्यो : सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र भयो

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वार्थ समूहले सरकारी विद्यालय कमजोर बनाउने षड्यन्त्र भएको बताएको छ ।

शिक्षकहरूको आन्दोलका कारण सरकारी विद्यालयमाथि प्रश्न उठिरहेकाले समाधान गर्न आन्दोलनरत शिक्षक र सरकारलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

‘निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेका छन्,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो ५ वर्षमा निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वार्षिक ८ प्रतिशतले बढेको दाबी अनेरास्ववियुले भनेको छ । ‘सार्वजनिक विद्यालयहरूबाट वार्षिक झन्डै ७ लाख विद्यार्थी वाहिरिएका छन् । विद्यालय बन्द हुने वित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा नधकेल्न अनेरास्ववियुले माग गरेको छ । ‘शिक्षाजस्तो संवेदनशील पेशामा आवद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेशागत प्रश्न पनि हो,’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षकको माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग अनेरास्ववयुले माग गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →