काठमाडौँ, असार ५ गते । वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १/१ जना रहेका छन्।
बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन्। तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १/१ जना रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन्। तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन्। वेपत्ताको खोजी कार्य जारी छ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।