काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी, आइतवार टुङ्गो लाग्ने

काठमाडौँ, असार १२ गते । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भैरहेको छ ।

व्यवसायी र अधिकारीबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको हो । छलफलमा सशर्त यातायात सञ्चालन गर्ने विषयमा सहमति नजिक पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो ।

काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →