काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ को जंगलमा मृत अवस्थामा फेला परेकी सुजिता भण्डारीको मोबाइल भेटिएको छ ।
उनको शव भेटिएको स्थान नजिकै मोबाइल भेटिएको प्रहरीले जनाएको छ । सोमबार मोबाइलको ब्याट्री मात्र भेटिएकोमा मंगलबार शव भेटिएको करिब २० मिटर पर मोबाइल पनि भेटिएको हो ।
प्रहरीले फेला पारेको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाउने तयारी गरिएको जनाइएको छ ।
यस्तै सुजिताको शव पनि पोष्टमार्टमका लागि मंगलबार काठमाडौं ल्याइएको छ । घटनालाई लिएर अहिले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । गत आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा सुजिताको शव फेला परेको थियो ।
राप्ती नगरपालिका–३ की २२ वर्षीया सुजिता असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् । तर, १० दिनपछि जंगलमा मृत अवस्था उनको शव फेला परेको हो ।
साथीलाई भेट्न जान्छु भनेर घरबाट हिँडेको केही समयपछि आफू अपहरणमा परेको भन्दै बचाउन दिदीलाई फोन गरेर आग्रह गरेको र सोको जानकारी प्रहरीलाई गराएको परिवारको दाबी छ । सुजिताको अपहरणपछि हत्या भएको परिवारले दाबी गर्दै प्रहरीमा उजुरी दिएको छ ।