काठमाडौं, भदौ ४ गते । निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले शनिबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो निर्देशन गर्नुभएको हो । आयोगले संघीय सरकार, प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई सो निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुनेगरी घोषणा भई निर्वाचनको तयारीको काम भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने काम गर्न नहुने आयोगको भनाइ छ ।