झापा मङ्सिर ३ गते। आइतबार प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदैछ । यही चुनावलाई लक्षित गरेर भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा स्थानीय प्रशासनले मंसिर १ देखि ७२ घण्टा नेपाल–भारत सीमा नाका ‘सिल’ गर्ने निर्णय गरेको छ ।
चुनाव सकिएको भोलिपल्ट सोमबार बिहानदेखि मात्रै सीमा खुला गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सोमबार साँझ सूचना प्रकाशित गरेर भारतसँग सीमा जोडिएका काँकडभिट्टा, भद्रपुर, केचना, झापा र गौरीगञ्ज नाका बन्द पूर्णरुपमा सिल हुने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने,‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि भारतीय काउन्टरपार्टसँगको सहकार्यमा सीमा नाका सिल गरेका हौं ।’
नाका सिलपछि दुवै देशका यात्रुहरुले भने सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपाली र भारततिर जान लागेका भारतीय दुवै यात्रुले नाका पार गर्न सकस भएको गुनासो पोखेका हुन् । नाकामा तैनाथ नेपाली सुरक्षाकर्मीले नेपाली परिचय पत्रका आधारमा नेपालीहरुलाई आउजाउ गर्न दिइएको जनाए । भारतीयले पनि आफ्ना नागरिकलाई मात्रै प्रवेश दिइरहेको छ । नाका बन्द हुँदा दुवै देशका सीमावर्ती सहर प्राय: ठप्प भएका छन् । भारतपट्टिको पानीट्यांकी र यताको काँकडभिट्टा नाका सुनसान छ ।