काठमाडौं, मङ्सिर २७ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”
उहाँले कोभिड–१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिनुभयो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आजै सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ ।
लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रूपमा सत्ता गठबन्धनमा रहन्छौँ, नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ ।”