सरकारले थालेको सुशासन अभियानबाट जनतामा आशा जागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,साउन १७ गते । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।

बैठकको प्रारम्भमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो । सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिनुभएको हो ।

बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, तीन केन्द्रीय आयोगका सदस्य ७५ जना र प्रदेश पदाधिकारीबाट एक सय जना गरी जम्मा ७५८ सहभागी रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सरकारको कामकारबाही, पार्टीको स्थिति तथा आगामी दिनमा के गर्ने भन्ने दृष्टिकोणसहितको प्रतिवेदन अध्यक्षले पेस गर्ने कार्यसूची तय भएको प्रवक्ता महराले जानकारी दिए ।

यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो । यसअघि पदाधिकारी बैठकले केन्द्रीय समितिको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →