अमेरिकाको न्युयोर्क शहरमा आगामी अगस्त १२ शनिबारका दिन आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड समारोहको मन्चमा अहिले सम्म कै सर्वाधिक रुपमा कलाकारहरु जम्मा हुने भएका छन् ।
बिश्वकै सम्राट राज्य न्युयोर्कमा अत्यधिक रुपमा कलाकारहरुको कार्यक्रम हुने र कार्यक्रम आयोजना गरिदा थुप्रै कलाकारहरु भेला हुने भएता पनि यो ग्लोबल नेपाली फिल्म अवार्ड( बिश्व नेपाली चलचित्र पुरस्कार )समारोहको छैटौं संस्करणमा अत्यधिक कलाकारहरुको उपस्थिति हुने ग्लोबल फिल्म अवार्ड(पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठले ईनेप्लिजलाई बताए ।
उनले यस पटक न्यूयोर्कले सर्वाधिक कलाकारहरु एकै थलोमा जम्मा हुने र कार्यक्रम ऐतिहासिक हुने बताए । साथै नेपालबाट दैनिक रुपमा कलाकारहरु आउने क्रम जारी रहेको छ भने अगस्त ११ का दिन सम्म पनि कलाकारहरु आउने क्रम रहेको जनाए । श्रेष्ठले न्यूयोर्कमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई पनि यसै मार्फत आग्रह गर्दै उपस्थितिको लागि आह्वान गरेका छन् ।
अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने कलाकारहरुको सहभागिता उल्लेखनीय रहने अपेक्षा गरिएको छ । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले समारोहको आतिथ्यता गर्ने छ भने यसका संचालक शैलेश श्रेष्ठ हुन् । श्रेष्ठले न्यूयोर्क शहरमा सर्वाधिक कलाकारहरु एकै थलोमा उपस्थिति हुने भएकोमा आफू निकै उत्साहित भएको जनाए ।
‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौं संस्करण चर्चाको शिखरमा पुगेको छ ।
चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको यो समारोह बिगतमा अमेरिकाको कोलोराडो,क्यालिफोर्निया राज्यहरुमा सफलतापूर्वक सम्पन्न भै सकेका छन् ।
यो पुरस्कार समारोह न्युयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा हुनेछ जहाँ हालसालै मिसनेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजना भव्यताको साथ सम्पन्न भएको थियो ।
यस पटक यो समारोहमा नीर शाह, शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,मेलिना मानन्धर ,रिचा घिमिरे ,जल शाह ,पुजा चन्द (लामा),अरुणिमा लम्साल , निखिल उप्रेती ,सारङ्गा श्रेष्ठ ,शंकर घिमिरे ,स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरेलगायतका सहभागिता हुनेछ । यस समारोहमा ५ दर्जन भन्दा बढी कलाकारहरुको जमघट हुनेछ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गर्ने छ । अवार्ड(पुरस्कार)का संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्ड(पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठ हुन् ।
यस समारोहका मुख्य प्रायोजकहरुमा एटिए एवरेस्ट इन्सुरेन्स (बिमा ) सँस्था तथा अल स्टेटका सुनिल पाठक रहेका छन् ।