काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उहाँले कम्तीमा १३८ मत पाउनु पर्छ ।
असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।
वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छ ।
सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् । यस्तै एमालेका ७८ सदस्य छन् । जसमध्ये सांसद टोपबहादुर रायमाझी निलम्बनमा हुनुहुन्छ । मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ । सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन् । दुई ठुला दलका मात्र १६५ सदस्य छन् ।