काठमाडौँ, साउन ९ गते। शेखर, शशांक र सुजाता– कोइराला परिवारको पछिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने यी तीन नेता तीनतिर फर्किदा कांग्रेसलाई कति फरक पर्यो,
परेन भन्नेबारे पार्टीमै आन्तरिक समीक्षा भएको होला । तर तीन नेतालाई भने पक्कै फरक पर्यो ।
त्यसैले ०७८ मा भएको १४ औं महाधिवेशनअघि परिवार मिलाउने प्रयास नभएको होइन । कोइराला परिवारका तीन नेता एक ठाउँ हुने भन्दै सार्वजनिक रुपमा बोलेका नेताहरु आफैं एउटै टीममा रहन भने सकेनन् । वीरगन्ज, विराटनगरलगायत विभिन्न ठाउँमा आयोजित भेला, कार्यक्रमहरुमा शेखर, शशांक र सुजाता एउटै मालाको हारमा समेटिने गर्थे । कार्यकर्ताले तीन नेताका लागि एउटै ठुलो हार बुन्नुको सन्देशभित्र पक्कै एकताको चाहना लुकेको थियो ।
जस्तो कि गिरिजाप्रसाद कोइराला फाउण्डेसनले २०७५ फागुनमा गरेको उक्त कार्यक्रममा पछिल्लो पुस्ताका कोइराला परिवार सदस्यहरुले महाधिवेशनमा आफूहरु एकढिक्का हुने सन्देश दिएका थिए । त्यसअघि विराटनगरमा गरेको कार्यक्रममा पनि कोइराला परिवारमा तीन नेता बीचमा विग्रह नआउने वचनवद्दता गरे । पारिवारिक जमघट, रितिथिति/ परम्परा अनुसार भेला हुँदा तीन नेताको एकतामा समस्या नहुने बताइरहे ।