अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ, वैशाख ८ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ ।

बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उहाँले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताउनुभयो ।

‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।”

उहाँले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । शहरहरुबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री डा राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएका बताउनुभयो । उहाँले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री डा राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले जलवायुजन्य विपद्को दृष्टिले यस क्षेत्र जोखिममा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू बाढी, खडेरी र चरम मौसमी दुर्घटनाजस्ता जोखिममा रहेका स्पष्ट गर्नुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →