मकवानपुर चट्याङको उच्च जोखिममा

मकवानपुरगढी, वैशाख ७ गते । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो ।

मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए ।

आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । सोही दिन चट्याङ लागेर दुई स्थानीयसमेत घाइते भए । घाइते हुनेमा स्थानीय मनहरी– ५ का ६२ वर्षीय सिंह बहादुर गोले र १० वर्षीय सौगात गोले रहेका थिए ।

यसरी चालू आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एकको मृत्युसमेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

यता जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कँडेलका अनुसार नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ । मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ । साथै दोस्रोमा भूकम्प र तेस्रोमा बाढी तथा पहिरो रहेको पाइएको छ । विगत २४ वर्ष यता जिल्लामा विपद्मा परेर १ सय १६ जनाको मृत्यु भएको छ भने ८ सय ५० जना बेपत्ता तथा घाइते भएको पाइएको छ ।

सूचना अधिकारी कँडेलका अनुसार चट्याङ पूर्वानुमान गर्न नसकिने विपद्को सुचीमा रहेको छ । चट्याङ कहाँ कति बेला पर्न सक्छ भन्ने पूर्वानुमान नहुँदा यसको रोकथाममा समस्या रहेको छ । ‘हामीले नागरिकलाई बर्षायाम सुरु भएपछि सचेतनामूलक सामग्री प्रसारण गरेर सचेत बनाउने प्रयत्न गरेका हुन्छौ । त्यो बाहेक यसको रोकथाममा अन्य विकल्प छैन । ’ उहाँले भन्नुभयो ।

सूचना अधिकारी कँडेलका अनुसार मकवानपुरको पूर्व पश्चिम लोक मार्ग अन्तरगत मनहरी गाउँपालिका–७ मनहरी बजार, सुनाचुरी र लोथर चट्याङको उच्च जोखिममा रहेको छ । त्यस्तै पूर्व पश्चिम लोक मार्ग हेटौंडा–२, हेटौंडा–१५ चुरियामाई र हेटौंडा– १९ नेवारपानी चट्याङको जोमिममा रहेको छ ।

यता कान्तिलोकपथ सडक खण्ड अन्तरगत बकैया गाउँपालिका –११ ठिंगन, त्रिभुवन राजपथ सडक खण्ड अन्तरगत थाहा नगरपालिका–६ दामन, सिस्नेरी सडक खण्ड अन्तरगत इन्द्र सरोवर गाउँपालिकाको ३, ४ र फाखेल सडक खण्ड उच्च जोखिममा रहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →